थोपा सिंचाइ के हो ?

थोपा सिंचाइ के हो ?

थोपा सिंचाई प्रविधि भन्ने बित्तिकै इजरायलको नाम लिने गरिन्छ । तर नेपाल आफैंले पनि थोपा सिंचाई प्रविधि विकास गरेको छ भन्ने धेरैलाई जानकारी नहुन सक्छ । विदेशी प्रविधि भित्रिनु अघिदेखि नेपालले थोपा सिंचाई प्रविधिको विकास र विस्तार गरेको थियो । थोपा सिंचाईका अनुसन्धानकर्ता राजन गैरे नेपाली थोपा सिंचाई प्रविधिका जन्मदाता हुन् । लामो सयमसम्म आइडिई नेपाल नामक अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था रहेर यससम्बन्धीको अनुसन्धान र विकासमा लागेका गैरेकै प्रयासबाट नेपालमा २०५५ सालदेखि थोपा सिंचाइ प्रविधिको सुरु भएको थियो । चितवन जिल्लामा जन्मिएका गैरे २०५२ सालदेखि आइडिई नेपालमा थोपा सिंचाइको अनुन्धान र विकासमा संलग्न रहेका थिए । लामो समय विभिन्न संघसंस्थामार्फत थोपा सिंचाइको परामर्शदाताका रूपमासमेत काम गरेका गैरे हाल नेपालमै सञ्चालनमा रहेको नेपाल एग्रो लाईभ मार्फत देशका विभिन्न ग्रामिण भेगमा थोपा सिंचाई सम्बन्धी काम गर्दै आउनु भएको छ ।

पछिल्लो समय गैरे गोरखाको ताङलिचोक गाविस तथा मकैसिंह गाविसका ७ सयजना कृषकलाई स्वच्छ बगैंचा, स्वच्छ घरसम्बन्धी विभिन्न तालिम प्रदान गरिरहेका छन् । प्रस्तुत छ, थोपा सिंचाइसँग सम्बन्धित विविध विषयमा गैरेसँग गरिएको कुराकानी ।

थोपा सिंचाइ प्रविधिको अनुसन्धानमा कहिलेदेखि लाग्नुभयो ?

२०५२ सालदेखि आइडिइ नेपाल नामक संस्थामा काम सुरु गरेसँगै यसको अनुसन्धानमा लागेको हुँ । करिब १२ वर्षसम्म सोही संस्थामा थोपा सिंचाइ प्रविधिको अनुसन्धान र विकासमा संलग्न थिए । पछिल्लो समय आइडिईकै प्राविधिक सहयोगमा नेपालकै शीतल थोपा सिंचाइ प्रविधि उद्योग स्थापना भयो । उद्योगले लामो समयको अध्ययन र अनुसन्धानपछि मात्रै २०५५ सालदेखि किसानलाई यो प्रविधि वितरण गरेको थियो ।

अनुसन्धान कसरी सुरु गर्नुभयो ?

सुरुमा त विदेशी प्रविधि नै भित्राइएको थियो । भारत, इजरायल, क्यानडाबाट थोपा सिंचाइ प्रविधि भित्राइएको थियो । तर विदेशी प्रविधि निकै महँगो भएकोले नेपाली किसानले उपयोग गर्नै नसक्ने अवस्था देखिएपछि नेपालमै यसको अनुसन्धान सुरु गर्ने सोचका साथ हामीले अनुसन्धान सुरु गरेका थियौं । नेपालको मध्यपहाडी क्षेत्रको सिंचाइका लागि यो प्रविधि निकै उपयोगी देखिएकोले आइडिईले अनुसन्धानका लागि बजेटसमेत छुट्यायो । त्यसपछि हामीले नेपालमै थोपा सिंचाइ प्रविधिको विकास ग¥यौं र परीक्षणसमेत ग¥यौं । गोरखा, कास्की लमजुङ र खुमलटारमा परीक्षण गरिएको थियो ।

विदेशीभन्दा कति सस्तो पर्छ ?

विदेशीभन्दा ६० प्रतिशत सस्तो हुनुका साथै गुणस्तरीय र किसानमैत्रीसमेत देखिएपछि प्रविधिको प्रवद्र्धन सुरु भएको हो । त्यसो त शीतल थोपाभन्दा पनि सस्तो प्रविधि पनि नभएको होइन तर विदेशी प्रविधि टिकाउ देखिएन ।

थोपा सिंचाइप्रति किसानको आकर्षण कस्तो छ ?

पहिल्लो समय थोपा सिंचाइको माग बढ्दो क्रममा रहेको छ, नेपाली थोपा सिंचाइ प्रविधि २०५५ सालदेखि नै प्रयोग सुरु भएको हो भने् विदेशी प्रविधि तथा २०६७, २०६८ सालदेखिमात्रै भित्रिएको हो । हालसम्म एकलाख १२ हजार किसानले नेपाली थोपा सिंचाइ प्रविधिको प्रत्यक्षरूपमा प्रयोग गरेका छन् । यो नेपाली प्रविधि नेपालमा मात्रै सीमित छैन, भारतमासमेत निर्यात हुने गरेको छ । भारतको सिक्किममा वार्षिकरूपमा २ ३ सय किसानले यसको प्रयोग गर्ने गरेका छन् । अफ्रिकी मुलुक घानालगायतका मुलुकमा पनि यसको प्रयोग भएको छ । अन्य मुलुकबाट पनि माग आएको छ तर झन्जटिलो निर्यात प्रक्रियाका कारण हामीले पठाउन सकेका छैनौं । विदेशको सामान नेपालमा जस्तो सामान पनि ल्याउन सकिने अवस्था छ तर नेपालबाट भने सहजरूपमा विदेश पठाउन सकिने अवस्था छैन । आइडिई विदेशमा पनि कार्यरत संस्था भएकोले पनि माग आएको हो ।

यसको माग बढ्दो क्रम कस्तो रहेको छ ?

यसको माग हरेक वर्ष बढ्दो क्रममा रहेको छ । वार्षिकरूपमा २० हजार किसान थपिने गरेका छन् । माग बढेसँगै हामीले देशैभर ६८ वटा डिलर विस्तार गरेका छौं । किसानलाई प्राविधिक सहयोगका लागि प्रत्येक जिल्लामा ४–४ जना सामुदायिक अभिकर्ता पनि खटाएका छौं । उनीहरूले किसानलाई थोपा सिंचाइका बारेमा जानकारी दिने र कृषिमा नर्सरीदेखि पोस्ट हार्भेस्टसम्मको तालिमसमेत दिने गरेका छन् । सम्बन्धित जिल्ला कृषि कार्यालयहरूसँगको सहकार्यमा यस्ता कार्यक्रम हुने गरेका छन् तर सबै जिल्लामा यस्तो सहकार्य हुन सकेको भने छैन । हामीले किसानले थोपा सिंचाइ प्रविधि किन्न आउँदैमा दिँदैनौं, किसानले यो प्रविधिको उपयोग गरेर फाइदा लिन सक्ने हो कि होइन, त्यसको अध्ययनपछिमात्रै प्रविधि उपलब्ध गराउँछौं

थोपा सिंचाइका लागि आवश्यक सामान कहाँबाट आउछ ?

कच्चा पदार्थहरू धेरैजसो सिंगापुर र कतारबाट आउँछ तर सबै सामग्री यहीँको उद्योगबाट उत्पादन हुन्छ । थोपा सिंचाइका लागि आवश्यक पाइप, फिटिस, सकेट, वाटर ट्यांकलगायत सबै सामग्री हामी यहीँ उत्पादन गर्छौं ।

नेपाली उत्पादन कत्तिको टिकाउ छ ?

प्रयोगशाला परीक्षणले १५ वर्ष भनेको छ । सामान्यतया १० देखि १५ वर्षसम्म प्रयोग गर्न सकिन्छ । त्यसो त कतिपय स्थानमा त्योभन्दा बढी समय टिकेको पनि पाइएको छ ।

यो प्रविधिलाई व्यवस्थित गर्न सरकारले के गर्नुपर्ला ?

सरकारबाट यसको अनुगमन हुनुप¥यो, थोपा सिंचाइको मापदण्ड बनाउनुप¥यो । नेपाली प्रविधिमा समस्या छ भने पनि सचेत गराउनुप¥यो र आयातित प्रविधिको गुणस्तर नियन्त्रण हुनुप¥यो । नेपालमा बनेको प्रविधिको प्रवद्र्धनमा सहयोग गर्नुप¥यो किनभने यो प्रविधि नेपालका लागि आवश्यक छ । यो प्रविधिले सतह सिंचाइको तुलनामा ८० प्रतिशत पानी बचत गर्छ । थोरै पानीबाट धेरै सिंचाइ गर्न सकिन्छ । कामदारको लागत खर्च कटौती हुन्छ ।