प्रविधिको उपयोगले उत्पादनमा वृद्धि पछि बजारीकरणको खोजीमा नुवाकोटका कृषकहरु

प्रविधिको उपयोगले उत्पादनमा वृद्धि पछि बजारीकरणको खोजीमा नुवाकोटका कृषकहरु

AWO, सर्वोदय नेपाल, कार्डसन र नेपाल एग्रो लाइफको आपसी समन्वयनमा कृषकहरुको जीवनस्तर माथि उठाउने र कृषिलाई प्राथमिकता प्राप्त क्षेत्रको रुपमा विकास गराई ग्रामीण क्षेत्र सम्म कृषिको आधुनिकीकरण गर्ने उद्धेश्यले नर्सरी देखि पोष्ट हार्भेष्ट सम्मका कार्यमा निरन्तर फिल्डमै रही कृषिजन्य वस्तुहरुको उत्पादन वृद्धि सम्बन्धी विशेष कार्यक्रम सम्पन्न गरेपश्चात् अहिले स्थानीय कृषकहरुको जीवनस्तरमा निकै नै परिवर्तन आएको छ । करिब ४-५ महिनाको प्रयाश पछिको यो सफलता पश्चात् कृषकहरुमा अब उत्पादित वस्तुहरुको बजारीकरण कसरी गर्ने भन्ने चिन्ता थपिएको छ । 
नुवाकोटको म्यागाङ गाउँपालिकाको वडा नम्बर २ र ४ मा पर्ने किम्ताङ र बुङ्तानका कृषकहरुलाई लक्षित गरी नवीनतम प्रविधिमा आधारित रोग तथा किरा नियन्त्रण र बाली व्यवस्थापन लगायतका विविध विषयहरुमा रही यो तालिम सम्पन्न गरिएको हो । अहिले स्थानीय कृषकहरूको जीवनस्तरमा व्यापक सुधार आएसँगै किसानहरु निकै दङ्ग छन् 

स्थानीय कृषकहरु उत्पादनमा वृद्धि भएपनि आफूहरुलाई बजारीकरणको बारेमा राम्रो ज्ञान नभएको कारण आयोजक संस्थाहरुलाई नै बजारीकरणको व्यवस्था मिलाइदिन आग्रह समेत गरेका छन् । यसै आग्रहलाई लक्षित गरी काठमाडौंका कालिमाटी, बल्खु, माछापोखरी, नुवाकोटका केही बजार क्षेत्र तथा स्थानीय स्तरमा समेत उत्पादित तरकारीको बजारीकरणमा सहयोग पुर्याउने उद्धेश्यले भर्खर मात्रै ‘१ दिने तरकारी बजार व्यवस्थापन तथा किसान र बजार सम्बन्ध विस्तार’ सम्बन्धी तालिम समेत सम्पन्न गरिएको छ ।

बजार विज्ञ अजयनन्द बज्राचार्यको मुख्य प्रशिक्षणमा सम्पन्न गरिएको उक्त तालिममा वरिष्ठ कृषि अधिकृत डा. कमल गैरे प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रमका सभापति कार्डसनका अध्यक्ष पदम उप्रेती हुनुहुन्थ्याे । यसैगरी अन्य अतिथिहरुमा किम्ताङका वडा अध्यक्ष कमल वहादुर तामाङ, मुङ्ताङका वडा अध्यक्ष रुप वहादुर तामाङ, सर्वोदय नेपालका कार्यक्रम संयोजक वोरिस वाग्ले, मनिटरिङ एण्ड इभालुएसन अफिसर कर्माडोल्मा गुरुङ, कृषि टिभीका कार्यक्रम उत्पादक देवराज गौली लगायत हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन कृषि पत्रकार असिम सापकोटाबाट गरिएको थियो ।

ग्रामीण कृषि आधुनिकीकरण सम्बन्धमा सञ्चालित कार्यक्रमको संक्षिप्त जानकारी :
अन्तराष्ट्रिय गैह्रसरकारी संस्था AWO को आर्थिक सहयोगमा राष्ट्रिय गैरसरकारी संस्था सर्वोदय नेपाल र स्थानीय गैरसरकारी संस्था कार्डसनको आयोजनामा नर्सरी देखि, तालिम, रोग तथा किराको उपचार र आवश्यक प्रविधि सहित पोष्ट हार्भेस्ट सम्मका सबै कार्यहरु नवीनतम प्रविधिमा रही सञ्चालन गर्ने उद्धेश्यले सञ्चालन गरिएको यस कार्यक्रमको प्राविधिक सहयोग नेपाल एग्रो लाइभले उपलब्ध गराएको हो । कार्यक्रम नुवाकोटको म्याधाङ गाउँपालिकाको वडा नम्बर २ र ४ मा पर्ने किम्ताङ र बुङ्तानका कृषकहरुलाई लक्षित गरी सञ्चालन गरिएको हो । यसबाट स्थानीय कृषकहरूको जीवनस्तरमा व्यापक सुधार आएको छ । २ ओटा वडामा गरी १ सय ७० घरधुरी लाभान्वित भएका छन् । उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपश्चात् अहिले कृषकहरुमा निकै नै खुसी छाएको छ ।
विगतमा वेमौसमी तरकारीको बारेमा पूरै अनविज्ञ रहेका ती गाउँका कृषकहरुले आफूहरुलाई आवश्यक पर्ने तरकारी करिब २५ किलोमिटर टाढा रहेकोे त्रिशुली क्षेत्रबाट किनेर आपुर्ति गर्नुपर्ने अवस्था थियो भने अहिले आफैंले उत्पादन गरेको तरकारीबाट आफ्नो आवश्यकता पूरा गरी बजारीकरण समेत गर्ने अवस्थामा पुग्न सक्नुलाई किसानहरुले कल्पना क्षमता भन्दा बाहिरको उपलब्धि ठानेका छन् । साथै उनीहरु आर्थिक उपार्जनका नयाँ आयामहरुको बारेमा समेत सोच्न थालेका छन् । कृषकहरुको जीवनस्तर उकास्ने योजनाको साथ प्लाष्टिक टनेल निर्माण, थोपा सिँचाई प्रविधि लगायतका सेवाहरु समेतफिल्डमा नै उपलब्ध गराउने योजना सहित शुरु गरिएको यो कार्यक्रम निकै प्रभावकारी भएसँगै अन्य छिमेकी गाउँका कृषकहरु समेत निकै लालायित बनेको र सो कार्यक्रमको कार्यक्षेत्र बढाउनको निम्ति वरपरका अन्य कृषकहरुले माग समेत गरिरहेको विशेष स्रोतबाट सेतोघर डट कमलाई जानकारी प्राप्त भएको छ । 

कसरी सम्पन्न भयो कार्यक्रम ?
२ जेटिए सहित नेपाल एग्रो लाइभका प्रमुख कार्यकारी अधिकृत राजन गैरेको सहजीकरणमा सम्पन्न भएको उक्त कार्यक्रममा कार्डसनका तर्फबाट ५ जना र सर्वोदय नेपालका २ जना व्यक्तिहरुको विशेष सक्रियता रहेको थियो । लगातार ४ महिना भन्दा बढी समयको अथक प्रयाश पछि आफूहरुले सोचेबमोजिम कृषकहरुको अवस्था माथि उठाउन सहयोग पुगेको कार्यक्रमका प्राविधिक सेवाप्रदायक तथा टीमलिडर राजन गैरेले बताउनुभयो ।
कार्यक्रममा उच्च मूल्यका तरकारीजन्य कृषि वस्तुहरूको उत्पादन, थोपा सिँचार्इ प्रविधिको जानकारी, प्रयोग र व्यवस्थापन लगायतका विविध विषयहरूमा समेत किसानहरूलार्इ प्रशिक्षित गरिएको थियो ।

कृषि सशक्तिकरणको निम्ति कार्यक्रम निकै प्रभावकारी हुने :
ग्रामीण क्षेत्रमा सञ्चालित यस कार्यक्रमले स्थानीयस्तरका किसानहरुको आयआर्जनमा महत्वपूर्ण योगदान पु¥याउने साथै आधुनिक प्रविधिको बारेमा नयाँ सन्देश प्रवाह गर्ने भएको कारण कृषि क्षेत्रलाई माथि उठाउनको निम्ति निकै नै महत्वपूर्ण भूमीका निर्वाह गर्न सहयोग पुग्नेमा कुनै दुइमत हुन सक्दैन । साथै यस्ता कार्यक्रमहरु एकपटक मात्र सञ्चालन गर्दा किसानहरुलाई निरन्तरताको निम्ति कठिनाई समेत हुन सक्ने भएको कारण नियमित अनुगमन र निरीक्षण समेत गर्नुपर्ने आवश्यकता समेत त्यत्ति नै रहन्छ । 
यसबाट कृषकहरुको निम्ति हौसला बढाउने मात्र नभई दीगो विकास अवधारणामा समेत निकै महत्वपुर्ण सहयोग पुग्न सक्छ भने वैदेशिक रोजगारीको बाध्यतामा रहेका नेपालीहरुलाई आफ्नै गाउँठाउँमा नै रहेर नमुनामुलक तवरले काम गर्न समेत थप सहयोग पुग्न सक्छ । यसैकारण निजी क्षेत्रको पहलमा नुवाकोटको ग्रामीण क्षेत्रमा आयोजना गरिएको यस नमुना कार्यक्रमको प्रभावकारिता बारे थप निरीक्षण गरी कार्यक्रमलाई वरपरका क्षेत्रमा विस्तार गर्ने सम्बन्धमा समेत सोच्नसके कृषि क्षेत्रलाई माथि उठाउन थप सहयोग पुग्न सक्ने आशा गर्न सकिन्छ