घर बगैँचा र यसको महत्व-राजन गैरे, प्रबन्ध निर्देशक, नेपाल एग्राे लाइफ

घर बगैँचा र यसको महत्व-राजन गैरे, प्रबन्ध निर्देशक, नेपाल एग्राे लाइफ

१. घरबगैंचाको परिचय ः

 

घर बगैँचा भन्नाले घर वरीपरी रहेको जमिनमा गरिने एक प्रकारको खेति प्रणाली हो, जसले घर परिवारको दैनिक आवश्यकता पूर्ति गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । घर बगैँचाको मुख्य बिशेषता भनेको घरको नजिकै हुनु र यसले परिवारको खाद्य तथा पोषणको सुरक्षा तथा आर्थिक आम्दानीमा पनि सहयोग गर्नु हो । घरपरिवारलाई चाहिने दैनिक तरकारी, फलफूल, मसला तथा माछामासु घर बैँचाबाट नै प्राप्त हुन्छ । साथै धार्मिक सांस्कृतिक र वातावरणीय महत्वका बहुउपयोगी वनस्पतिहरु पनि घर बगंैचामा संरक्षण गर्ने गरिन्छ ।
घरबगैँचा मुख्यतः परिवारको दैनिक आवश्यकता पूरा गर्नका लागि स्थापना गरिएको हुन्छ । यसमा घरनजिक रहेको जग्गाको सदुपयोग गरी विभिन्न किसिमका तरकारी, फलफूल, मसलाजन्य, आलंकारिक विरुवा, धार्मिक महत्वका विरुवाहरु, फूल तथा औषधीय बोटबिरुवाहरु लगाइन्छ । घर बगैँचाको महत्व जैविक विविधता र पर्यावरणीय सन्तुलन साथै आयआर्जनको दृष्टिबाट समेत राम्रो रहेको हुन्छ ।

२. घर बगैँचाबाट हुने पारिवारिक पोषण सुरक्षाः

सामान्यतया पोषण भन्नाले शरीरको वृद्धि, कोष तथा तन्तुहरुको निर्माण साथै मर्मतको अलावा शरीरको सुरक्षा गर्न र शक्ति उत्पादन गर्न चाहिने तत्वको रुपमा बुझ्न सकिन्छ । हामीले खाने दैनिक खानामा शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व उपलब्ध भएमा रोग तथा दुर्बलताबाट मुक्त भई स्वस्थ जीवन जिउन सकिन्छ ।

मानिसको लागि आवश्यक पर्ने पौष्टिक तत्वलाई ६ प्रकारमा वर्गिकृत गरिएको छ ।
१. कार्बोहाईड्रेट २. भिटामिन ३. चिल्लो पदार्थ ४.खनिज ५. प्रोटिन ६.पानी

यि विभिन्न ६ प्रकारका पौष्टिक तत्वहरुको हाम्रो शरीरमा आ–आफ्नै क्रियाकलापहरु हुन्छन् । हामीले खाने दैनिक खानेकुरामा यि तत्वहरु हुनु जरुरी छ । त्यसकारण खाना खाँदा सन्तुलित आहार खान निकै आवश्यक हुन्छ । हाम्रो घरबगैंचा तथा खेतबारीमा लगाईने विभिन्न खाले बालीमा पौष्टिक आहारा र त्यसको बारेमा जान्नका लागि तल दिएको

तालिका हेरी आफ्नो घरबगैँचा व्यवस्थित गर्न सकिन्छः

माथि उल्लेखित पौष्टिक तत्व आफ्नो दैनिक खानेकुरामा प्राप्त गर्नको लागि घर बगैँचामा परिवारको आवश्यकता अनुसारका बिरुवाको मात्र छनौट गर्न सकिन्छ । सन्तुलित खानेकुरा गर्भवती महिला बालबालिका तथा किशोरकिशोरीहरुका लागि अति आवश्यक हुन्छ । यदि बालबालिकाहरुले सन्तुलित खानेकुरा खान पाएनन् भने उनीहरुमा कुपोषण हुन गई विभिन्न रोगले आक्रमण गर्छ । साथै उनीहरुको वृद्धिविकास पनि राम्रोसँग हुँदैन । त्यसैले बालबालिका वृद्धवृद्धा तथा किशोरकिशोरीहरुको वृद्धिविकास तथा स्वास्थ्यको लागि खानेकुरामा सबै किसिमका पौष्टिक तत्वहरु समावेश हुनु जरुरी छ । तसर्थ खानेकुरामा पौष्टिक तत्व सन्तुलन राख्न घर बगैँचामा विविधता कायम राख्नु पर्दछ । साथै खाद्यान्न सन्तुलनको लागि विभिन्न खाद्य समूह र उक्त पोषण कुन बालीबाट प्रप्त गर्न सकिन्छ भन्ने कुरा जान्नु जरुरी छ ।

१. अन्नबालीः
अन्नबाली समूहका खाद्यान्नले शरीरलाई उर्जा प्रदान गर्दछ । यसमा बिभिन्न किसिमका सुक्ष्म पौष्टिक तत्वहरु पाइन्छन् । साथै अन्नबालीमा पाइने फाइटेड नामक तत्वले क्यान्सर, मुटुरोग, पत्थरी जस्ता ठुला रोगहरु लाग्नबाट शरीरलाई बचाउँछ । अन्नबालीका श्रोतहरुमा धान, मकै, कोदो, गहुँ, जौ, फापर, आलु आदि पर्दछन् ।

२. जरेबाली
जरेबालीबाट बिशेष गरी भिटामिन ए, बि, सी र रेसादार तत्व धेरै पाइन्छन् । यसमा घाउ निको पार्ने क्षमता पनि बढी हुन्छ । मूला, गाँजर, सलगम, तरुल, सखरखण्ड आदी यस अन्तरगत पर्दछन् ।

३.कोसेबाली
कोषेबाली भित्र दालबाली र गेडागुडीहरु पर्दछन् । यो समूहमा पर्ने आहाराहरुमा प्रोटिन र भिटामिन पाइन्छ । सिमी, केराउ, चना, रहर, बोडी भटमास आदि यस समूहमा पर्दछन् ।

४. नट्स र बीउ
यस समूहमा रुखमा फल्ने नट्स,भूइमा फल्ने बदाम र केही बीउहरु पर्दछन् । यिनीहरुमा अत्यन्तै धेरै चिल्लो पदार्थ पाइन्छ । यसको साथै प्रोटिन, रेसादार तत्व, भिटामिन, खनिज, फाईटोस्टोरल र फेनोलिक तत्व पनि पाइन्छ । यि तत्वहरुले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । ओखर,काजु आदि यसका उदाहरण हुन् ।

५. दुध र दुग्धजन्य परिकारहरु
दुध र दुग्धजन्य परिकारहरुमा उच्च गुणस्तरका प्रोटिनहरु, पोटासियम, क्याल्सियम र अन्य सुक्ष्म पौष्टिक तत्वहरु पाइन्छ । गाई भैँसीबाट प्राप्त हुने दुधबाट दही, पनिर, नौनी, खुवा, घिउ, चिज, पेडा आदि बनाउन सकिन्छ ।

६. माछा र मासु
यस समूहमा मासुजन्य खाद्यान्न पर्दछन् । यद्यपी रातो मासु शरीरका लागि त्यति लाभदायक मानिदैन । यसको सट्टा माछामा बिशेष जोड दिँदा राम्रो हुन्छ । यसभित्र सबै किसिमका मासु, ताजा वा सुकाएका माछा पर्दछन् ।

७. हरियो सागसब्जी
यस समूहका खाद्यान्नहरु तरकारीको रुपमा प्रयोग गरिन्छ । यसबाट शरीरलाई भिटामिन ए, बी र खनिज तत्वहरु प्राप्त हुन्छन् । जस्तैः चम्सुर, पालुंगो, रायो, बन्दागोबी, लट्टेसाग, सिमसाग, मूलाको साग यस समूहभित्र पर्दछन् ।
८. फूल र फल लाग्ने तरकारी बालीयस समूहभित्र काउली, ब्रोकाउली, भण्टा, खुर्सानी, गोलभोडा रामतोरिया जस्ता तरकारी बालीहरु पर्दछन् । यी तरकारी बाली बाट शरीरलाई आबश्यक पर्ने भिटामिन र खनिज पदार्थहरु प्राप्त हुन्छ ।

९. लहरे तरकारी बाली
लहरामा फल्ने काँक्रा, फर्सी,घिरौँला, करेला, स्कुस, चिचिण्डा,लौका आदि तरकारी बालीहरु यस समूहमा पर्दछन् । यि तरकारी बाट शरीरलाई आबश्यक पर्ने भिटामिन र खनिज तत्व प्राप्त हुन्छ ।

१०. फलफूल
यस समूहभित्र सबै प्रकारका फलफूलरु पर्दछन् । जस्तै स्याउ, अम्बा, लिचि, अंगुर, आरु, नासपाती, अमला, एभोगड्रो, आरुबखडा आदि । शरीरलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तथा खनिज तत्व फलफूलबाट पाईन्छ ।

११. सन्तुलित भोजन
शरीरलाई आवश्यक पर्ने पोषणको लागि बिशेष खाद्यतत्वहरुको सम्मिश्रणबाट तयार गरी उचित मात्रा मिलाएर गरिने भोजन नै सन्तुलित भोजन हो । यसले शरीरलाई आवश्यक पर्ने कार्बोहाइड्रेट, प्रोटिन, खनिज, चिल्लो पदार्थ, भिटामिन, लवण तथा अन्य पौष्टिक तत्वहरु प्रदान गर्दछ । सन्तुलित भोजनले शरीरको वृद्धिविकास गर्ने, रोगसँग लड्ने क्षमता प्रदान गर्नुका साथै स्वस्थकर जीवन जिउन मद्दत गर्दछ ।

source: http://www.setoghar.com/archives/33119/12/